Friday, December 20, 2024

महाकवि लक्ष्मीप्रसाद देवकोटाको व्यक्तित्वचर्चा तथा रचनावाचन

 


काठमाडौँ, कात्तिक ४ / नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४औँ जन्मजयन्तीका अवसरमा महाकवि देवकोटाको व्यक्तित्वचर्चा तथा रचनावाचन कार्यक्रम आयोजना गरियो । प्रज्ञा–प्रतिष्ठानका निमित्त कुलपति डा. जगमान गरुङको अध्यक्षता र निवर्तमान कुलपति गङ्गाप्रसाद उप्रेतीको प्रमुख आतिथ्य रहेको कार्यक्रम पहिलो पटक महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय, मैतीदेवीमा आयोजना गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि निवर्तमान कुलपति उप्रेतीले महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय सरकारका तर्फबाट निर्मित साहित्यकारहरूको पहिलो सङ्ग्रहालय भएको बताउनुभयो । उहाँले अनेकन बाधा अड्चनका बाबजुद सङ्ग्रहालय निर्माण गरिएको बताउनुभयो । उहाँले सङ्ग्रहालय निर्माण गरेर महाकवि देवकोटाका सामग्रीहरू सुरक्षित राख्न सकिएकामा खुसी व्यक्त गर्नुभयो । उहाँले आम सर्जक, पाठक र दाताहरूको सहयोगबाट नै सङ्ग्रहालय निर्माण सम्भव भएको उल्लेख गर्नुभयो ।

विशिष्ट अतिथि पूर्व कुलपति बैरागी काइँलाले नेपाली वाङ्मयका क्षेत्रमा महाकवि देवकोटाको विशिष्ट योगदान रहेको उल्लेख गर्दै सङ्ग्रहालयको निर्माणले देवकोटाको योगदानलाई अमर तुल्याएको बताउनुभयो । उहाँले सङ्ग्रहालयलाई सबै कुराले पूर्ण गराउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमका अध्यक्ष निमित्त कुलपति डा. गुरुङले पहिलो पटक महाकवि देवकोटा सङ्ग्रहालयमा महाकवि देवकोटाको जन्मजयन्ती कार्यक्रम मनाउन पाउँदा गौरव लागेको बताउनुभयो । उहाँले उपस्थित सबै पाहुनाहरूप्रति आभार प्रकट गर्नुभएको थियो ।

निवर्तमान सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय निर्माणका सम्बन्धमा प्रकाश पार्नुभएको थियो । उहाँले राम्रो काम गर्न खोज्दा बाधा गर्ने प्रवृत्ति देखिएको तर यसका बाबजुद निर्माण कार्य सम्पन्न गरिएको बताउनुभयो ।

कार्यक्रमको औचित्यमाथि प्रकाशसहित स्वागत मन्तव्य व्यक्त गर्दै निमित्त सदस्य सचिव प्रा.डा. हेमनाथ पौडेलले गत असोज २४ गते समुद्घाटन गरिएको सङ्ग्रहालयमा पहिलो पल्ट कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले यसअघि कवि, साहित्यकारहरूका जन्मजयन्ती कार्यक्रम प्रज्ञा–प्रतिष्ठानमै गरिँदै आएकामा अब देवकोटाको जन्मजयन्ती भने हरेक वर्ष सङ्ग्रहालयमै मनाइने बताउनुभयो ।

महाकवि देवकोटा सङ्ग्र्रहालय नेपाली सर्जकका लागि तीर्थस्थल भएको चर्चा गर्दै प्रा.डा. उषा ठाकुरले पन्त, प्रसाद, निराला र देवकोटाबिचको अन्तरसम्बन्धबारे चर्चा गर्नुभएको थियो ।

यसैगरी डा. देवी नेपालले देवकोटाले ‘कविताकाव्यमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको बहुआयमिक व्यक्तित्वको प्रतिबिम्बन’ विषयमा बोल्दै युगवाणीको सम्पादन गर्दा होस् या नेपाली साहित्य परिषद्का सभापति भएर काम गर्दा होस् उहाँले नेपाली साहित्यमा विशेष योगदान दिएको बताउनुभयो । उहाँले नेपाल प्रज्ञा–प्रतिष्ठानको परिकाल्पना गर्ने व्यक्तित्व नै महाकवि देवकोटा भएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा ३० नं. वडाका अध्यक्ष दलबहादुर कार्की, महाकवि देकोटाकी सुपुत्री अम्बिकादेवी देवकोटा रिमाल, गोविन्द गिरी प्रेरणाले महाकवि देवकोटा र देवकोटा सङ्ग्रहालयका विभिन्न पक्षमाथि बोल्नुभएको थियो । कार्यक्रममा रामेश्वर राउत मातृदास, रेजिना आपगाई, बलराम दाहाल, देवु लुइटेल र मञ्जिला अनिलले देवकोटाका रचना वाचन गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण प्राज्ञ सभा सदस्य शशी लुमुम्बूले गर्नुभएको थियो ।

कार्यक्रममा प्राज्ञ परिषद्का सदस्यहरू, प्राज्ञ सभाका सदस्यहरू, पूर्व मन्त्री शान्ता मानवी, पूर्व राजदूतद्वय प्रा.डा. मोहनप्रसाद लोहनी, सुन्दरनाथ भट्टराई, भाषा आयोगका सदस्य मातृका पोखरेल, वरिष्ठ संस्कृतिविद् प्रा.डा. प्रेमकुमार खत्री, साझा प्रकाशनका महाप्रवन्धक प्रल्हाद पोखरेल, सांस्कृतिक संस्थानका निवर्तमान अध्यक्ष प्रेमनाथ अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

000

https://sahityapost.com बाट साभार 

दुई जोडी स्रष्टालाई स्वयम्बर सहित सम्मान

 


‘सयपत्री प्रतिष्ठान’ काभ्रेले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३ औँ जन्म जयन्तीको अवसरमा ‘सयपत्री राष्ट्रिय सम्मान २०७८’ कार्यक्रम सम्पन्न गरेको छ । शनिबार जनज्योति मा.वि. भवनको सभा कक्षमा सम्पन्न कार्यक्रममा विभिन्न स्रष्टाले रचनावाचनसमेत गरेका थिए ।

प्रतिष्ठानले यस वर्ष साहित्यकारका र साहित्यमा लाग्न सहयोगी जीवनसाथीलाई समेत दोसल्ला ओढाएर सम्मानित गरेको छ । सम्मानित हुनेमा गङ्गा सुवेदी र उनको श्रीमान् दिनेश सुवेदी, सूर्यप्रसाद लाकोजू र श्रीमती सविता कुमारी लाकोजू श्रेष्ठ दुई जोडी स्रष्टालाई सम्मान गरेको हो । आफ्नो जीवनसाथी एकले अर्कोलाई दुबोको माला पहिराई सफल दाम्पत्य जीवनको रूपमा पुनः स्वयंवर गर्ने अवसरमा सबैले ताली बजाएर साथ दिएका थिए । उनीहरूलाई सगुन स्वरूप फलफूल र मसलाहरू प्रदान गरिएको थियो ।

‘सयपत्री राष्ट्रिय सम्मान पत्र २०७८’ साथ बाटो खर्चको रूपमा नगद ५ हजार रुपैयाँ सहित सम्मानित गरिएको थियो।

वरिष्ठ साहित्यकार मोहन दुवालको सभापतित्वमा आयोजित कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव वरिष्ठ साहित्यकार प्रा.डा.जगत प्रसाद उपाध्याय थिए । कार्यक्रममा वरिष्ठ लेखक तथा साहित्यकार श्रीओम श्रेष्ठ रोदन, साहित्यिक पत्रकार महांसघका वरिष्ठ उपाध्यक्ष मातृका पोखरेल, उपमहासचिव चेतनाथ धमलालगायतले मन्तव्य व्यक्त गरेका थिए भने विभिन्न १३ जना स्रष्टाहरूले आ–आफ्नो रचना वाचन गरेका थिए।

प्रमुख अतिथि प्रा.डा. जगप्रसाद उपाध्यायले दुई जोडी स्रष्टा सम्मानित गर्दै सयपत्री प्रतिष्ठानले उपयुक्त पात्रहरू छनौट गरेको बताए । उनले स्रष्टाहरूको साहित्यिक योगदानमा जीवन साथीको उल्लेखनीय योगदान रहने हुनाले दम्पत्तीसहित सम्मानित गर्ने परम्परा सही भएको र आफूलाई निकै प्रभावित भएको बताए।

मोहन दुवालले साहित्यकार एवं साहित्यिक संस्थाले कुनै पनि वादमा नलागी जनताको लागि सेवा गर्नुपर्ने कुरामा जोड दिए । गङ्गा सुवेदीले सयपत्री राष्ट्रिय सम्मान पाउँदा आफूलाई ४० वर्षअघि आफ्नो विवाहको स्मरण गर्दा भावुकतामा उनका आँखा रसाएका देखिन्थे ।

सम्मानित साहित्यकार सूर्यप्रसाद लाकोजूले यो सम्मानले आफूलाई थप जिम्मेवार बनाएको र सामाजिक रूपमा आफ्नो अक्षरकर्म लागि रहन प्रेरणा मिलेको बताए।

कार्यक्रममा सम्मानित स्रष्टाहरूको व्यक्तित्व र कृतित्वका बारेमा वरिष्ठ साहित्यकार श्र ओम श्रेष्ठ “रोदन“ले प्रकाश पारेका थिए भने सयपत्री प्रतिष्ठानका अध्यक्ष राजेन्द्र श्रेष्ठले सयपत्री राष्ट्रिय सम्मानका बारेमा जानकारी दिएका थिए भने प्रद्युम्न न्यौपानेले सयपत्री प्रतिष्ठान जनगालको संस्थाको गतिविधि बारे प्रकाश पारेका थिए ।

000

https://sahityapost.com बाट साभार