Thursday, February 5, 2026

नेपालमा वामराजनीति र मातृका पोखरेलको निराशाको अर्थ - ईश्वर पोखरेल



“निराश पनि छु; ममा निराशा पनि छ" आफ्नो कथासंग्रह 'म पनि निदाउन सकिनँ’को विमोचन कार्यक्रममा विद्युत प्राधिकरणको सभा कक्षमा पुस २५ गते कथाकार मातृका पोखरेल भन्दै थिए– “परबाट हेर्दा मान्छे सुन्दर देखिन्छ; नजिक पुगेपछि त्यही मान्छे घीनलाग्दो देखिन्छ ।" नेपाली साहित्यमा समाजवादी यथार्थवाद कित्ताका लेखकको पहिचान बनाएका पोखरेलले अगाडि भने– “म नेता हुन हिडिनँ; म अगाडि जान हिडेको होइन; समाज बदल्ने नारामा आकर्षित भएर लुरुलुरु पछिपछि हिडेको हुँ । हिडाइका क्रममा यस विन्दूमा आइपुग्दा ममा निराशा थुप्रिएको छ ।"

के हो 'निराशा’ भनेको ?

वृहत् नेपाली शब्दकोशले निराशालाई 'आशाको अभाव वा आस मार्ने अवस्था’ भनेर अर्थ्याएको पाइन्छ ।

धेरै लेखकहरू निराशाजनक परिस्थितिहरूको गहिरो बुझाइले बौद्धिक व्यक्तिमा निराशा उत्पन्न हुन्छ भन्दछन् । मानिसका निजी अपेक्षाहरू र वास्तविकताका बीचमा जब खाडलको अवस्था देखा पर्दछ; त्यसले मानिसलाई निराश बनाउने सम्भावना बढ्छ भन्ने गरिन्छ । बौद्धिक साहित्यकार लेखकहरू आफ्ना अपेक्षा र वास्तविक उपलब्धिलाई अझ स्पष्ट रूपमा देख्न सक्दछन् । अत्यधिक सोचविचार, असफलता र वास्तविकतामा अनुवाद हुन नसकेका अपेक्षाहरूले निराशालाई निम्त्याउन सक्दछन् । बुँदागत रूपमा बौद्धिक प्रौढ व्यक्तिको निराशाका कारणहरूलाई निम्नानुसार चर्चा गर्न सकिन्छः

१) वास्तविकता र आदर्श बीचको खाडल : आशा र वास्तविकताको द्वन्द्वको रूपमा पनि बुझ्न सकिन्छ । बौद्धिक व्यक्तिहरूलाई प्रायः सामाजिक जीवनका समस्याहरू र मानवीय कमजोरीहरूको गहिरो बुझाइ हुन्छ; जसले गर्दा उनीहरूलाई वास्तविकता उनीहरूको आदर्शबाट टाढा छ भन्ने महसुस हुन्छ र यो खाडलले निराशा निम्त्याउँछ ।

२) गहिरो विश्लेषण : बौद्धिक व्यक्तिहरूले समस्या र परिस्थितिहरूको गहिरो विश्लेषण गर्छन्; जसले गर्दा त्यस्ता व्यक्तिमा संसारको असंगति, अन्याय र कमजोरीहरूको स्पष्ट बुझाइ हुन्छ । यो यस्तो गहिरो समझ र जागरूकताले निराशा निम्त्याउन सक्छ । विषयहरूको गहिरो र निरन्तर चिन्तनले क्रोध, आसक्ति वा लोभ जस्ता भावनाहरू निम्त्याउन सक्छ, जसले बुद्धिलाई भ्रमित गर्न सक्छ र विनाश निम्त्याउन सक्छ ।

३) अस्वीकार र असफलता : जब एक बौद्धिक असफलता वा अस्वीकृतिको सामना गर्छ; नकारात्मक दृष्टिकोण विकास हुन सक्छ; जसले निराशा निम्त्याउँछ ।

४) उच्च आदर्शवाद : बुद्धिजीवीहरूसँग प्रायः संसारको लागि उच्च आदर्श र अपेक्षाहरू हुन्छन् । जब तिनीहरूले देख्छन्, महसुस गर्छन्; वास्तविक संसार उनीहरूको आदर्श अनुरूप छैन, तब तिनीहरू निराश हुन सक्छन् । उच्च अपेक्षा/आदर्शहरू प्रायः उच्च बुद्धिमत्तासँग सम्बन्धित हुन्छन् । जब वास्तविकताले ती अपेक्षाहरू पूरा गर्दैन; तब निराशा हुन्छ ।

५) मानसिक स्वास्थ्य : तनाव, चिन्ता र डिप्रेसन जस्ता मानसिक स्वास्थ्य समस्याहरूले जो कोहीलाई पनि निराश पार्न सक्छ र बुद्धिजीवीहरू पनि यसको अपवाद छैनन् ।

६) एक्लोपन र सम्बन्धको अभाव : बौद्धिक व्यक्तिहरूमा एक्लोपन विकास हुन सक्दछ । यस्ता व्यक्तिहरूको बौद्धिक रुचि र विचारहरू सामान्य मानिसहरूको भन्दा फरक हुन्छन्; जसले गर्दा उनीहरू सामाजिक रूपमा एक्लो महसुस गर्न सक्छन् । यो एक्लोपनले निराशा निम्त्याउन सक्छ ।

सारमा भन्दा, बौद्धिक व्यक्तिहरूले सामाजिक जीवनलाई अझ स्पष्ट रूपमा देख्छन् । यिनीहरूसंग अपेक्षा र वास्तविक उपलब्धिलाई केलाउने र गहिरो गरी बुझ्ने क्षमता हुन्छ; यिनीहरूमा आदर्शतर्फको यात्रामा देखापरेका कमजोरीहरू बुझ्ने सम्भावना बढी हुन्छ; जसले निराशाको सम्भावना बढाउँछ ।

साहित्यमा समाजवादी यथार्थवाद

समाजवादी यथार्थवाद सन् १९३२ देखि १९८० को दशकको मध्यसम्म सोभियत संघमा आधिकारिक रूपमा स्वीकृत कला साहित्यको सिद्धान्तका रूप थियो । साहित्यमा समाजवादी यथार्थवादले कलाको त्यस्तो शैलीलाई जनाउँछ; जसले समाजवादी आदर्शहरूलाई प्रवद्र्धन गर्छ, कामदार र मजदुरहरूको जीवनको महिमा गर्छ र उज्ज्वल कम्युनिस्ट भविष्यतर्फको प्रगतिलाई चित्रण गर्छ । समाजवादी यथार्थवादका अनुसार, साहित्यको उद्देश्य सामाजिक चेतना जगाउनु र पार्टीको विचारधारा अनुरूप समाज निर्माण गर्नु हो । समाजवादी यथार्थवादले वास्तविकतालाई क्रान्तिकारी दिशामा चित्रण गर्छ । समाजवादी यथार्थवादमा सामूहिक प्रगति र कम्युनिस्ट पार्टीको भूमिका व्यक्तिगत सम्बन्धहरू भन्दा बढी महत्त्वपूर्ण हुन्छ ।

समाजवादी यथार्थवादका मुख्य विशेषताहरूः

१) आधिकारिक शैली : समाजवादी यथार्थवाद सन् १९३० को दशकमा सोभियत संघमा विकसित भयो र अन्य समाजवादी देशहरूमा आधिकारिक सांस्कृतिक शैली बन्यो।

२) पार्टी समर्थन : समाजवादी यथार्थवाद कम्युनिस्ट पार्टीको नीति र कम्युनिस्ट लक्ष्यहरूसँग नजिकबाट मिल्दोजुल्दो छ ।

३) आदर्शवादी यथार्थवाद : समाजवादी यथार्थवादले वास्तविकतालाई जस्तो छ त्यस्तै चित्रण गर्नुको सट्टा, यसले वास्तविकतालाई भविष्यको कम्युनिस्ट समाजसँग मिल्दोजुल्दो हुने गरी आदर्शवादी र प्रगतिशील दिशामा चित्रण गर्छ ।

४) कामदारहरूको महिमा : समाजवादी यथार्थवादमा  परिश्रमी जनता, किसान र सर्वहारा वर्गलाई नायक, समाजका निर्माताहरूको रूपमा प्रस्तुत गरिन्छ ।

५) स्पष्ट उद्देश्य : समाजवादी यथार्थवादमा सरल शैलीसहितको स्पष्ट उद्देश्य हुन्छ । यसको उद्देश्य जनतालाई शिक्षित गर्नु र साम्यवादतर्फ सकारात्मक हुन प्रेरित गर्नु हो ।

६) व्यक्तिवाद विरोधी : समाजवादी यथार्थवादमा व्यक्तिगत भावना वा तटस्थ प्रतिबिम्बको सट्टा सामाजिक र सामूहिक हितमा जोड दिइन्छ।

७) पूँजीवादको अस्वीकृति : समाजवादी यथार्थवादले आधुनिकतावाद, व्यक्तिवाद र कलाप्रति 'कलाको खातिर कला' दृष्टिकोणलाई पुँजीवादी र पतनशील ठहर गर्दै अस्वीकार गर्दछ ।

नेपाली लेखक जगदीशचन्द्र भण्डारी भन्छन्– 'वर्ग, विचार र यथार्थ प्रतिको सक्रिय प्रतिबद्धताका साथै आशावादिता एवम् मुक्त जीवन निर्माणप्रतिको तीव्र आकाङ्क्क्षा व्यक्त हुनु र मालेमावादी विश्वदृष्टिकोणसँग गाँसिनु एवम् ऐतिहासिक र समकालीन यथार्थको वस्तुपरक र सौन्दर्ययुक्त प्रतिबिम्बन गर्नु, क्रान्तिकारी वर्ग, पार्टी र विचारप्रति प्रतिबद्ध भई क्रान्तिलाई सहयोग पु¥याउनु जस्ता युगीन दायित्व निर्वाह गर्नु समाजवादी यथार्थवादी साहित्यको संज्ञानपरक, विचारपरक तथा कलात्मक काम हो ।’

(भण्डारी, जगदीशचन्द्र, साहित्यमा संशोधनवाद र समाजवादी यथार्थवाद,  ’मूलबाटो’ २०७८ वैशाख ११ शनिवार)

सारमा, समाजवादी यथार्थवादले साहित्यलाई एक उपकरणको रूपमा हेर्छ । यसले प्रायः पार्टीको मार्गदर्शनमा साम्यवादको अन्तिम लक्ष्यको मान्दछ र वास्तविकतालाई समाजलाई समाजवादी दिशामा रूपान्तरण गर्न प्रयोग गर्दछ ।

मातृका पोखरेलको राजनीतिक एवम् साहित्यिक पहिचान

‘मातृका पोखरेलको जीवनी व्यक्तित्व र कृतित्वको अध्ययन’ शीर्षकमा  शोधपत्र (नेपाली शिक्षण विभाग, त्रिभुवन बहुमुखी क्याम्पस पाल्पा, २०६५) तयार गरेका चक्र बुढा थापाले आफ्नो शोधपत्रमा मातृका पोखरेलको राजनीतिक व्यत्तित्वका बारेमा चर्चा गरेका छन् । यिनका अनुसार, निर्मल लामाले नेतृत्व गरेको ने.क.पा. (चौम), प्रचण्डले नेतृत्व गरेको ने.क.पा. (मशाल), रूपलाल विश्वकर्माले नेतृत्व गरेको सर्वहारावादी श्रमिक सङ्गठन, बाबुराम भट्टराईले नेतृत्व गरेको विद्रोही मसाल र रूपचन्द्र बिष्टले नेतृत्व गरेको ने.क.पा. (जनमुखी) मिलेर वि.सं. २०४७ सालमा ने.क.पा. (एकता केन्द्र) को गठन भयो । मातृका पोखरेलले श्याम श्रेष्ठ मार्फत् वि.सं.२०४६ सालमा नै ने.क.पा. (चौम) को तर्फबाट कम्युनिष्ट पार्टीको सदस्यता पाएका थिए । मातृका पोखरेल ने.क.पा.(एकता केन्द्र) लाई वैचारिक समर्थन गर्ने अखिल नेपाल जनवादी युवा लिगको वि.सं. २०४८ देखि वि.सं.२०५२ सालसम्म काठमाडौँ अध्यक्ष वि.सं.२०४९ देखि वि.सं.२०५० सम्म केन्द्रीय सदस्य र वि.सं.२०५१ देखि वि.सं. २०५४ सालसम्म केन्द्रीय कोषाध्यक्षको भूमिका खेले । नेपाली कम्युनिष्ट आन्दोलनमा तीव्र रूपमा देखापरेको फुट र विघटनको स्थितिबाट ने.क.पा. (एकता केन्द्र) पुन प्रभावित हुन पुग्यो ।  यस चरणमा पोखरेल दीपक शर्मा (प्रकाश) उर्फ नारायणकाजी श्रेष्ठले नेतृत्व गरेको ने.क.पा. (एकता केन्द्र) नजिक नै युवा लिगको केन्द्रीय नेतृत्वमा रहे । प्रगतिशील सांस्कृतिक आन्दोलनमा चाँसो राख्ने र साहित्य क्षेत्रमा पनि कलम चलाउने पोखरेल वि.सं. २०५२ देखि वि.सं. २०५४ सालसम्म इन्द्रेणी सांस्कृतिक समाजको केन्द्रीय सदस्य वि.सं.२०५४ देखि वि.सं.२०५८ सम्म केन्द्रीय कोषाध्यक्ष र रक्तिम सांस्कृतिक परिवारसँग एकता गरेर बनेको प्रगतिशील सांस्कृतिक सङ्गठनको केन्द्रीय सदस्य बनेको पाइन्छ । वि.सं. २०५९ सालमा पोखरेलले ने.क.पा. (एकता केन्द्र–मसाल) लाई वैचारिक समर्थन गर्ने प्रगतिशील सांस्कृतिक सङ्गठनको महासचिव पदमा जिम्मेवारी निर्वाह गरे ।

२०८२ साल पुस २५ गते पोखरेलको म पनि निदाउन सकिनँ कथा संग्रह सार्वजनिक भएको हो । यिनको 'सेतो दरबारको छेउबाट' (कविता सङ्ग्रह २०५६), 'यात्राको एउटा दृश्य' (कविता सङ्ग्रह २०६०), 'सन्त्रस्त आँखाहरू' (कथासङ्ग्रह २०६१) र 'अनुहारहरू' (कविता संग्रह  २०६४) पहिल्यै प्रकाशित भइसकेका साहित्यिक कृतिहरू हुन् ।

उनी नेपाल प्रगतिशील लेखक संघका पूर्व अध्यक्ष पनि हुन् ।

मातृका पोखरेलको निराशाको अर्थ

मातृका पोखरेल नेपाली समाजमा साहित्यिक र राजनीतिक व्यक्तित्व रूपमा देखिन्छन् । साहित्यमा यिनी समाजवादी यथार्थवादको कित्तामा सिर्जनारत् व्यक्ति हुन् । यिनको राजनीतिक व्यक्तित्व चै नेपाली वामपन्थी आन्दोलनसंग गाँसिएको छ । समाजवादी यथार्थवादले कला साहित्यलाई समाजवादी समाजका दिशामा समाजलाई बदल्ने कलात्मक साँस्कृतिक औजारका रुपमा ग्रहण गर्दछ । यसरी हेर्दा पोखरेलको साहित्यकारिता पनि राजनीतिक उद्देश्यसहित देखिन्छ । यसप्रकार यिनको निराशा नेपालको वामपन्थी आन्दोलनसंग सोझै गाँसिएको देखापर्छ ।

मातृका पोखरेल वामपक्षधर बौद्धिकहरूका प्रतिनिधि व्यक्तित्व हुन् । यिनको निराशाले यिनको वर्गको मनस्थितिलाई प्रतिनिधित्व गर्दछ । यिनको कथनबाट नेपाली वामपन्थी आन्दोलनको वर्तमान अवस्थामा नेपाली वामपक्षधर बौद्धिक वर्ग घोर निराशामा रहेको छनक पाइन्छ । एक बौद्धिक व्यक्तिले आफ्नो निराशालाई तार्किक रूपमा बुझ्ने प्रयास पनि गरी राखेको हुन्छ; तर जब उनीहरूले समाधान फेला पार्न सक्दैनन्; निराशा अझ गहिरो हुन पनि सक्छ  ।

(लेखक समाजशास्त्री हुन् ।)


https://dayitwabodh.com बाट साभार 

Tuesday, September 9, 2025

चेरबस्मृति प्रतिष्ठानको बाह्रौँ वार्षिकसाधारण तथा सम्मान एवम् पुरस्कार वितरण कार्यक्रम सम्पन्न !

 चेरब स्मृति प्रतिष्ठानले मिति २०८२/०५/२१ गतेका दिन प्रतिष्ठानलेको बाह्रौँ साधारणसभा तथा सम्मान एवम् पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रमको प्रमुख अतिथि,प्राज्ञ, डाक्टर,प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति तथा साहित्यका, आदरणीय विष्णु विभु घिमिरे हुनुहुन्थ्यो भने,भाषा आयोगका माननीय सदस्य मातृका पोखरेल -विशिष्ट अतिथि,वरिष्ठ अधिबक्ता,पूर्व सचिव,घिमिरेबन्धु राष्ट्रिय प्रतिष्ठानका अध्यक्ष चेतनाथ घिमिरे विशेष अतिथि,विद्युतकर्मी साहित्यिक समाजका पूर्व अध्यक्ष,पूर्व निर्देशक नेविप्रा विष्णु बहादुर सिह, नेविप्राका निर्देशक श्री थर्कबहादुर थापा,गोरखापत्र संस्थानका पूर्व महाप्रवन्धक कपिल घिमिरे,सान्जेन जलविद्युत केन्द्रका प्रमुख कार्यकारी अधिकृत श्री अर्पण बहादुर सिंह(उहाँ चेरब स्मृति प्रतिष्ठननका संरक्षक पनि हुनुहुन्छ),वित्तप्रमुख श्री घनश्याम श्रेष्ठ,हरिकृष्ण घिमिरे लगायत विशेष अतिथिका रूपमा र घिमिरेबन्धु राष्ट्रिय प्रतिष्ठानका केन्द्रीय सदस्य द्वय जगदीश्वर घिमिरे, राम प्रसाद घिमिरेका साथै विद्युतकर्मी साहित्यसक समाजका अध्यक्ष विष्णु आचार्य "अतृप्त" लगायत ब्यक्तित्वहरू अतिथिका रूपमा उपस्थित हुनुभएको थियो।

प्रतिष्ठानले समावजसेवी,नेविप्राका कर्मचारी श्री शुकदेव घिमिरेलाई चेरव स्मृति सम्मान प्रदान गरिएको प्रमुखअतिथिबाट गरिएको थियो ।

उक्त कार्यक्रममा पेश भएका,आर्थिक,साङ्गठनिक र विधान संशोनको प्रतिवेदन तथा मस्यौदा एकमतले पारित भएका थिए।प्रमुख अतिथिले कार्यक्रम महत्वपूर्ण भएको, यसरी १२ वर्षसम्म छोरालाई बचाउने कार्य रत्नन पुण्यले गरेकोमा प्रशंसा ब्यक्त गर्नु भयो भने विशेष अतिथिले यसकिसिमको कार्यक्रम र निरन्तराका लागि प्रतिष्ठानलाई धन्यवाद दिनुभयो।स्वागत मन्तव्य चक्र दवाडी, धन्यवाद मन्तव्य मधुष न्यौपानेले गरेको उक्त कार्यक्रममा सान्जेनका प्रमुख कार्यकारी अघिकृत ई.श्री अर्पण बहादुर सिंहले प्रतिष्ठानको सफलताको कामना गर्दै सान्जेनबाट आवश्यक सहयोग गरिदै रहने भावना व्यक्त गर्नु भएकोथियो ।
000








Friday, December 20, 2024

महाकवि लक्ष्मीप्रसाद देवकोटाको व्यक्तित्वचर्चा तथा रचनावाचन

 


काठमाडौँ, कात्तिक ४ / नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४औँ जन्मजयन्तीका अवसरमा महाकवि देवकोटाको व्यक्तित्वचर्चा तथा रचनावाचन कार्यक्रम आयोजना गरियो । प्रज्ञा–प्रतिष्ठानका निमित्त कुलपति डा. जगमान गरुङको अध्यक्षता र निवर्तमान कुलपति गङ्गाप्रसाद उप्रेतीको प्रमुख आतिथ्य रहेको कार्यक्रम पहिलो पटक महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय, मैतीदेवीमा आयोजना गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि निवर्तमान कुलपति उप्रेतीले महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय सरकारका तर्फबाट निर्मित साहित्यकारहरूको पहिलो सङ्ग्रहालय भएको बताउनुभयो । उहाँले अनेकन बाधा अड्चनका बाबजुद सङ्ग्रहालय निर्माण गरिएको बताउनुभयो । उहाँले सङ्ग्रहालय निर्माण गरेर महाकवि देवकोटाका सामग्रीहरू सुरक्षित राख्न सकिएकामा खुसी व्यक्त गर्नुभयो । उहाँले आम सर्जक, पाठक र दाताहरूको सहयोगबाट नै सङ्ग्रहालय निर्माण सम्भव भएको उल्लेख गर्नुभयो ।

विशिष्ट अतिथि पूर्व कुलपति बैरागी काइँलाले नेपाली वाङ्मयका क्षेत्रमा महाकवि देवकोटाको विशिष्ट योगदान रहेको उल्लेख गर्दै सङ्ग्रहालयको निर्माणले देवकोटाको योगदानलाई अमर तुल्याएको बताउनुभयो । उहाँले सङ्ग्रहालयलाई सबै कुराले पूर्ण गराउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमका अध्यक्ष निमित्त कुलपति डा. गुरुङले पहिलो पटक महाकवि देवकोटा सङ्ग्रहालयमा महाकवि देवकोटाको जन्मजयन्ती कार्यक्रम मनाउन पाउँदा गौरव लागेको बताउनुभयो । उहाँले उपस्थित सबै पाहुनाहरूप्रति आभार प्रकट गर्नुभएको थियो ।

निवर्तमान सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय निर्माणका सम्बन्धमा प्रकाश पार्नुभएको थियो । उहाँले राम्रो काम गर्न खोज्दा बाधा गर्ने प्रवृत्ति देखिएको तर यसका बाबजुद निर्माण कार्य सम्पन्न गरिएको बताउनुभयो ।

कार्यक्रमको औचित्यमाथि प्रकाशसहित स्वागत मन्तव्य व्यक्त गर्दै निमित्त सदस्य सचिव प्रा.डा. हेमनाथ पौडेलले गत असोज २४ गते समुद्घाटन गरिएको सङ्ग्रहालयमा पहिलो पल्ट कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले यसअघि कवि, साहित्यकारहरूका जन्मजयन्ती कार्यक्रम प्रज्ञा–प्रतिष्ठानमै गरिँदै आएकामा अब देवकोटाको जन्मजयन्ती भने हरेक वर्ष सङ्ग्रहालयमै मनाइने बताउनुभयो ।

महाकवि देवकोटा सङ्ग्र्रहालय नेपाली सर्जकका लागि तीर्थस्थल भएको चर्चा गर्दै प्रा.डा. उषा ठाकुरले पन्त, प्रसाद, निराला र देवकोटाबिचको अन्तरसम्बन्धबारे चर्चा गर्नुभएको थियो ।

यसैगरी डा. देवी नेपालले देवकोटाले ‘कविताकाव्यमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको बहुआयमिक व्यक्तित्वको प्रतिबिम्बन’ विषयमा बोल्दै युगवाणीको सम्पादन गर्दा होस् या नेपाली साहित्य परिषद्का सभापति भएर काम गर्दा होस् उहाँले नेपाली साहित्यमा विशेष योगदान दिएको बताउनुभयो । उहाँले नेपाल प्रज्ञा–प्रतिष्ठानको परिकाल्पना गर्ने व्यक्तित्व नै महाकवि देवकोटा भएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा ३० नं. वडाका अध्यक्ष दलबहादुर कार्की, महाकवि देकोटाकी सुपुत्री अम्बिकादेवी देवकोटा रिमाल, गोविन्द गिरी प्रेरणाले महाकवि देवकोटा र देवकोटा सङ्ग्रहालयका विभिन्न पक्षमाथि बोल्नुभएको थियो । कार्यक्रममा रामेश्वर राउत मातृदास, रेजिना आपगाई, बलराम दाहाल, देवु लुइटेल र मञ्जिला अनिलले देवकोटाका रचना वाचन गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण प्राज्ञ सभा सदस्य शशी लुमुम्बूले गर्नुभएको थियो ।

कार्यक्रममा प्राज्ञ परिषद्का सदस्यहरू, प्राज्ञ सभाका सदस्यहरू, पूर्व मन्त्री शान्ता मानवी, पूर्व राजदूतद्वय प्रा.डा. मोहनप्रसाद लोहनी, सुन्दरनाथ भट्टराई, भाषा आयोगका सदस्य मातृका पोखरेल, वरिष्ठ संस्कृतिविद् प्रा.डा. प्रेमकुमार खत्री, साझा प्रकाशनका महाप्रवन्धक प्रल्हाद पोखरेल, सांस्कृतिक संस्थानका निवर्तमान अध्यक्ष प्रेमनाथ अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

000

https://sahityapost.com बाट साभार 

दुई जोडी स्रष्टालाई स्वयम्बर सहित सम्मान

 


‘सयपत्री प्रतिष्ठान’ काभ्रेले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३ औँ जन्म जयन्तीको अवसरमा ‘सयपत्री राष्ट्रिय सम्मान २०७८’ कार्यक्रम सम्पन्न गरेको छ । शनिबार जनज्योति मा.वि. भवनको सभा कक्षमा सम्पन्न कार्यक्रममा विभिन्न स्रष्टाले रचनावाचनसमेत गरेका थिए ।

प्रतिष्ठानले यस वर्ष साहित्यकारका र साहित्यमा लाग्न सहयोगी जीवनसाथीलाई समेत दोसल्ला ओढाएर सम्मानित गरेको छ । सम्मानित हुनेमा गङ्गा सुवेदी र उनको श्रीमान् दिनेश सुवेदी, सूर्यप्रसाद लाकोजू र श्रीमती सविता कुमारी लाकोजू श्रेष्ठ दुई जोडी स्रष्टालाई सम्मान गरेको हो । आफ्नो जीवनसाथी एकले अर्कोलाई दुबोको माला पहिराई सफल दाम्पत्य जीवनको रूपमा पुनः स्वयंवर गर्ने अवसरमा सबैले ताली बजाएर साथ दिएका थिए । उनीहरूलाई सगुन स्वरूप फलफूल र मसलाहरू प्रदान गरिएको थियो ।

‘सयपत्री राष्ट्रिय सम्मान पत्र २०७८’ साथ बाटो खर्चको रूपमा नगद ५ हजार रुपैयाँ सहित सम्मानित गरिएको थियो।

वरिष्ठ साहित्यकार मोहन दुवालको सभापतित्वमा आयोजित कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव वरिष्ठ साहित्यकार प्रा.डा.जगत प्रसाद उपाध्याय थिए । कार्यक्रममा वरिष्ठ लेखक तथा साहित्यकार श्रीओम श्रेष्ठ रोदन, साहित्यिक पत्रकार महांसघका वरिष्ठ उपाध्यक्ष मातृका पोखरेल, उपमहासचिव चेतनाथ धमलालगायतले मन्तव्य व्यक्त गरेका थिए भने विभिन्न १३ जना स्रष्टाहरूले आ–आफ्नो रचना वाचन गरेका थिए।

प्रमुख अतिथि प्रा.डा. जगप्रसाद उपाध्यायले दुई जोडी स्रष्टा सम्मानित गर्दै सयपत्री प्रतिष्ठानले उपयुक्त पात्रहरू छनौट गरेको बताए । उनले स्रष्टाहरूको साहित्यिक योगदानमा जीवन साथीको उल्लेखनीय योगदान रहने हुनाले दम्पत्तीसहित सम्मानित गर्ने परम्परा सही भएको र आफूलाई निकै प्रभावित भएको बताए।

मोहन दुवालले साहित्यकार एवं साहित्यिक संस्थाले कुनै पनि वादमा नलागी जनताको लागि सेवा गर्नुपर्ने कुरामा जोड दिए । गङ्गा सुवेदीले सयपत्री राष्ट्रिय सम्मान पाउँदा आफूलाई ४० वर्षअघि आफ्नो विवाहको स्मरण गर्दा भावुकतामा उनका आँखा रसाएका देखिन्थे ।

सम्मानित साहित्यकार सूर्यप्रसाद लाकोजूले यो सम्मानले आफूलाई थप जिम्मेवार बनाएको र सामाजिक रूपमा आफ्नो अक्षरकर्म लागि रहन प्रेरणा मिलेको बताए।

कार्यक्रममा सम्मानित स्रष्टाहरूको व्यक्तित्व र कृतित्वका बारेमा वरिष्ठ साहित्यकार श्र ओम श्रेष्ठ “रोदन“ले प्रकाश पारेका थिए भने सयपत्री प्रतिष्ठानका अध्यक्ष राजेन्द्र श्रेष्ठले सयपत्री राष्ट्रिय सम्मानका बारेमा जानकारी दिएका थिए भने प्रद्युम्न न्यौपानेले सयपत्री प्रतिष्ठान जनगालको संस्थाको गतिविधि बारे प्रकाश पारेका थिए ।

000

https://sahityapost.com बाट साभार